लिम्बुवान राज्य प्राप्तिको लागि वेलायतमा रहेका लिम्बुवानवासीहरुको प्रतिबद्धता
राजु सुब्बा, लण्डन
नेपाल सरकारले देशलाई संघिय संरचनामा लैजाने निर्णय गरि सकेको अवस्थामा पूर्वी नेपालका लिम्बूवानवासीहरुले माग गरेको लिम्बूवान राज्यको माग जायज र न्यायोचित ठहर गर्दै वेलायतमा रहेका लिम्बूवानवासीहरुले पनि लिम्बूवान राज्य प्राप्तिको लागि चर्किएको आन्दोलनमा प्रतिबद्धता जाहेर गरेको छ । चर्किएको आन्दोलनलाई निर्णायक र फलदायी बनाउन सम्भावित सबैप्रकारका सहयोगका लागि पल्लो किरात लिम्बूवान क्षेत्रका वेलायतवासीहरु जुटेका छन् ।
गत २७ फेब्रुवरीका दिन लण्डनमा सम्पन्न भेलाले जे। याक्थुङ्बाको संयोजकत्वमा वेलायतमा लिम्बूवान स्वायत्त सघर्ष मञ्चको निर्माण भएको छ । भर्खरै निर्माण भएको १५ सदस्य मञ्चले अन्तरक्रिया लगायत आर्थिक सहयोग संकलनको कार्य पनि धमाधम अघि बढाएको छ । यो असारे रोपाइमा सबैको सहभागिता रहेको खण्डमा भोलि मंसिरमा पाक्ने बालि सामुहिक तवरले उठाउन मिल्दछ अन्यथा रोपाई गर्न नचाहने तर भोलि पाकेको बालि उठाउन तम्सिनु नमिल्ने भन्दै भोलिको स्वायत्त राज्य सबैको जित हुने कुरा उल्लेख गरेका छन् ।
सयौ बर्षमा आउने यो फलाम तातिएको जस्तो एउटा विशिष्ट परिस्थितीलाई सबैले बुझ्नु पर्ने लगायत विदेशमै बसेको भए पनि देशको लागि, आफ्नो गाँउठाँउ र समाजको लागि केही न केही योगदान पुर्याउन सबैमा आग्रह गरेको छ । वेलायतमा बसोवास गर्नेहरुको नेपालमा आफ्नै पहिचान रहेकोले पनि झनै यो नयाँ संरचनाको संवेदनशिल अवस्थामा सहभागिता हन अनिवार्य भएको हो उल्लेख छ ।
स्वायत्त राज्यको सवालमा छलफल तथा विचारहरु आदान प्रदान गर्नको लागि limbuwanuk@gmail.com इमेल एकाउण्ट सबैको लागि खुल्ला गरिएको छ । प्रश्न सोध्नको लागि, सहयोग गर्न इच्छुक ब्यक्तिको लागि पनि सोहि इमेल प्रयोग गर्न आग्रह गरिएको छ । लिम्बूवान स्वायत्त सघर्ष मञ्च वेलायतले तत्कालको लागि नेपालको संघिय लिम्बूवान राज्य परिषद (कुमार लिङदेन समुह) संग निकट रही काम गर्ने उल्लेख छ ।
वर्तमान नेपालको स्थितीलाई औल्याउदै संयोजक याक्थुङबाले भने अहिलेको नेपालको अवस्था असक्षम डाक्टरले अप्रेशन गरेर बिगारेको घाउ जस्तै भएको छ र यसको समाधान शासक पक्षले संघिय पद्धतिको बारेमा अध्यायन गर्नु पर्दछ र आदीवासी तथा मधेसीहरुको पीडाको महशुस गर्नु पर्दछ । यो अत्यन्तै महत्वपूर्ण समयमा घरदेश र परदेशमा रहनु भएका सबैसबैलाई राजनैतिक चेतना र चासो राख्न पनि उनले आग्रह गरे ।