संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चुनावी घोषणा-पत्र २०६४ सार्वजानिक
चैत्र ७ (20 March 2008) काठमाडौं ।
विकास र प्रगतिको बाधक विगतको मूल कानून् संविधान नै भएको ठहर गर्दै अब जनताको मौलिक विचार, आफ्नै नेत्रित्व र प्रतिनिधित्वमा संविधान बनाइनु पर्दछ भन्ने मान्यता राखेर नयाँ नेपालका लागि नयाँ संविधान भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पुतली सडक स्थित रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी आफ्नो संविधानसभाका निमित्त चुनावी घोषणा–पत्र २०६४ सार्वजानिक गरेको छ ।
घोषणा-पत्रमा राजतन्त्रको समूल अन्त्य गरी आफैले गणतन्त्र पक्षधरको नेत्रित्व गर्दै संविधानसभामार्फत संघीय गणतन्त्रको स्थापना गर्ने उल्लेख गर्दै जातीय एितिहासिक प्रिष्ठभूमि, भाषा क्षेत्रको आधारमा नयाँ नेपालको प्रस्तावित संघीय संरचनाको खाकासमेत तयार गरेको छ । प्रस्तावित खाका अनुसार आत्मनिर्णयको अधिकारसहित १० वटा गणराज्यहरू प्रस्ताव गरेको छ । जसअनुसार लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरुहट, मगरात, नेवा:, खसान, मिथिला र भोजपुरी आदि स्वायत्त राज्यहरूको संवैधानिक व्यवस्था गर्ने उल्लेख गरेको छ ।
घोषणा-पत्रमा पाँच जनाको राष्ट्रपति मन्डल् गठन गर्ने प्रस्ताव अगाडि सारेको छ । संघीय संसद र जातीय सभाको संयुक्त सभाले एकै पटकमा आदिवासी जनजातिबाट १, तराईवासीबाट १, दलितबाट १, आर्यसमुदायबाट १ र महिलाबाट १ गरी जम्मा पांच जनाको राष्ट्रपति मण्डल्को चयन गर्नेछ र त्यसरी आएका राष्ट्रपतिले वर्णानुक्रमका आधारमा १/१ वर्षको कार्यकाल सम्हाल्ने छन् । तर कार्यपालिकाको कार्यकारी अधिकार भने प्रधानमन्त्रीमा निहित हुने व्यवस्था गरेको छ । प्रधानमन्त्रीको निर्वाचन प्रत्यक्ष बलिग मताधिकारका अधारमा जनताबाट गरेने छ भने स्वायत्त राज्यहरूको प्रमुख प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित मुख्य मन्त्री हुनेछ ।
व्यवस्थापिकाका सन्दर्भमा संघीय सभा र शक्तिशाली जातीय सभा गरी केन्द्रमा दुई सदनात्मक व्यवस्थापिका रहने उल्लेख छ । न्यायपालिकाका सन्दर्भमा तीन तहको न्यायलयको व्यवस्था गर्ने उल्लेख छ । संघीय न्यायलय सबैभन्दा उच्च न्यायलयको रूपमा रहने ब्यबस्था छ। प्रत्येक राज्यमा स्वतन्त्र राज्य उच्च न्यायलय रहने र स्थनिय वा क्षेत्रिय निकायमा इलाका न्यायलय रहने उल्लेख छ ।
मूल रूपमा यिनै प्रमुख मुद्दाहरू लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दापसहितको खुकुरी चिन्ह लिएर संविधानसभाको चुनावमा होमिएको छ। संविधानसभामा मञ्चले संघीय लिम्बुवान राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद र थरूहट स्वायत्त राज्य परिषद (संयुक्त थारु राष्ट्रिय मोर्चा) मार्फत प्रत्यक्ष तर्फ ४७ र समानुपातिक तर्फ १०० जना गरी जम्म १४७ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।